काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड—माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् ।

दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी यस्तो व्यवस्था मिलाइएको जानकारी दिए ।


संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।
सरकारले गत पुस ५ गते संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना हुने फैसला गरेको थियो । सोही पुनःस्थापित संसदको बैठक आइतबार अपराह्न चार बजे बस्दै छ ।