गोरखा । बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेबारे गोरखाका जनप्रतिनिधीलाई अभिमुखिकरण गरिएको छ ।

मंगलबार गोरखा नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई सुरक्षित आप्रवासनका बारे अभिमुखिकरण गराइएको हो ।

नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व, हेल्भेटास नेपाललको प्राविधिक सहयोग, गोरखाका चार स्थानीय तहको साझेदारी र एकिकरण नेपालको समन्वयमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत गोरखा नगरपालिकाका जनप्रतिनिधीसंग परियोजनाले सञ्चालन गरेका गतिविधी र आगामी कार्ययोजनाका बारे छलफल गरेको हो ।

नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगर क्षेत्रबाट बैदेशिक रोजगारीमा जानेको अवस्था, जोखिम, चुनौती र आगामी दिनमा कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारे छलफल भएको बताइएको छ ।
साथै कार्यक्रममा आप्रवासन प्रोफाइल निर्माण र यसको फाइदाका बारे समेत छलफल भएको परियोजना संयोजक चन्द्र बहादुर देवकोटाले बताए । त्यस्तै गोरखा नगरपालिका क्षेत्रमा परियोजनाले सञ्चालन गरेका गतिविधी, प्रगती, चुनौती र आगामी कार्यक्रमका बारे समेत अन्तरकृया भएको उनले बताए ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने प्रकृया, कानूनी ब्यवस्था लगायतका बारे सहभागीहरुलाई जानकारी गराइएको थियो । अभिमुखिकरण कार्यक्रमलाई गण्डकी प्रदेश परियोजना अकिृत भागिराम थारु, सुशासन तथा क्षमता विकास अधिकृत भक्त कुमार राई, जिल्ला परियोजना संयोजक देवकोटा लगायतले सहजीकरण गरेका थिए ।


कार्यक्रमको समापन नगर उपप्रमुख विनाकुमारी श्रेष्ठले गरेकी थिइन । जिल्लामा गोरखा र पालुङटार नगरपालिकासहित शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा यो परियोजना सञ्चालनमा रहेको बताइएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय गोरखाबाट समेत परियोजनाले वैदेशिक रोजगारीमा जान चाहनेलाई परामर्श लगायतका सेवा दिदै आएको जनाएको छ ।