काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन् ।
सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन्। उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबीसमेत गरेका छन्।
अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले दर्ता गरेको मुद्दामा जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका हुन् ।
जवाफमा भनेका छन्, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्नँ ।’