Modern metal handcuffs. Vector illustration in flat style
म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो’, उनले भने, ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।’
पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।
पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन् । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।रासस