काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार बन्ने सम्भावना ‘शून्य बराबर’ रहेको बताएका छन् ।
बिहिबार सामाजिक सञ्जालमार्फत नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार बन्नु ‘गोरु ब्याउनु’ जस्तै भएको भनेर टिप्पणी गरेका हुन् ।
‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’ उनले लेखेका छन्,‘यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’
गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ। प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले नयाँ सरकार साझेदारीका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेका छन् ।