गोरखा । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेकामा बुधवार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षधरले गोरखामा खुसीयाली मनाएका छन् ।

जिल्ला पार्टीले गोरखा सदरमुकामको हरमटारी चोकमा धन्यवाद सभाको आयोजना गर्दै संसद बिघटन गर्ने सरकारको निर्णय बिरुद्धको आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको हो ।नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण धितालले अदालतको निर्णयले संविधान, गणतन्त्र र संघियताको रक्ष भएको बताए ।


उक्त फैसलाले कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको सिद्धान्त, मुल्य मान्यताको रक्षा गरेको उनले बताए । सभामा जिल्ला सह इन्चार्ज अमर तमु, प्रचण्ड–माधव पक्षधरका जिल्ला सचिव यादब बस्नेत लगायतले संसद बिघटन गर्ने निर्णय बदर गरेको प्रति न्यायाधिशहरुलाई धन्यवाद दिए ।

साथै नेकपाका नेताहरुले जनताको जित भएको बताउँदै संसद बिघटनको निर्णय नै संविधान बिपरित भएकाले अदालतको निर्णयले देशको संविधानको रक्षा भएको बताए ।