चितवन । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड—नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्।
भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए।
‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ‘टाइँ टाइँ फिस,’ ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो’, पाण्डेले भने, ‘यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद पार्टीकोतर्फबाट।’
उनले नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने कुरा न्यायाधीशहरूको फैसलाबाट प्रमाणित भएको बताए।
अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको उनले बताए।
नेता पाण्डेले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एक ठाउँमा आउन आह्वान गरे।
प्रधानमन्त्रीलाई दुर्योधन र राष्ट्रपतिलाई धृतराष्ट्रसँग तुलना गर्दै पाण्डेले अब देश त्यसरी चल्न नसक्ने बताए।
प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरूपयोग गरी जन्मोत्सव मनाएको भन्दै अब पदबाट राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलसँगै रहेको मैदानमा नेकपाले विरोध सभाको आयोजना गरेको भएपनि राजनीतिक परिस्थिति फेरिएसँगै विजय सभामा परिणत गरिएको थियो।
सोही मैदानमा गत माघमा गरिएको सभामा प्रधानमन्त्री ओलीले चितवनबाट निर्वाचित सांसदहरूले जनताका लागि केही काम गर्न नसकेको आरोप लगाएका थिए।
प्रधानमन्त्रीलाई जवाफ दिँदै पाण्डेले प्रधानमन्त्रीबाट बिदा भएपछि ओली राम मन्दिरको पुजारी बन्नुपर्ने बताए।
उनले ओलीले कथा, कुथुरी, अन्टसन्ट जाली कुरा गरेर देश चलाउन खोजेको टिप्पणी गरे।
अध्ययक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा उनीहरू काठमाडौं फर्किएपछि पाण्डेले सभालाई सम्बोधन गरेका थिए।
तस्बिरः नसिव शेख/चितवन












