सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको नेकपाले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले काठमाडौँ उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।

गोरखामा ११ बजेपछि पाटेचाैर स्थित नेकपाकाे पार्टि कार्यालयबाट बिजय जुलुस सुरु हुने र १२ बजेपछि हरमटारीचाेकमा सभा आयाेजना गरिएकाे प्रचण्ड नेपाल समुहकाे नेकपाका जिल्ला सचिव यादव बस्नेतले सिभिलखबरलाई बताए ।
उता काठमाडौँमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ ।

यस्तै गोरखा सहित देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिजालले बताए । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।
त्यसपछि ओलीबाट अलग्गिएको दाहाल-नेपाल समूहको नेकपाले देशभर आन्दोलनका कार्यक्रम अघि बढाएको थियो ।

