चुनावी सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १५ सय गाडी प्रस्ताव भएकाे छ । त्यसमा नेपाल प्रहरीले ११ सय र सशस्त्रबाट ४ सय वटा मागिएको हाे ।
यता चुनावी सुरक्षा निम्ति गृह मन्त्रालयले १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम मागेको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चुनावका निम्ति १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ती गर्ने योजना छ । जसका निम्ति ६ अर्ब रुपैयाँ खर्च रुपैयाँ अनुमानित लागत पेश गरेको छ । अघिल्लो पटक चुनाव हुँदा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । उनीरुलाई दुई महिना जति चुनावी सुरक्षामा खटाइनुपर्ने हुन्छ ।
सबभन्दा बढी रकम चाहिँ सुरक्षा गाडी खरिद निम्ति प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का निम्ति चुनावी मिति घोषणा गरेका थिए । उनीद्वारा घोषित पहिलो चरणको चुनावको मिति आउन अब जम्माजम्मी ६८ दिन मात्रै बाँकी छ ।