काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ दोस्रो साता गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाकोतर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बुधबार प्रस्ताव गरेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव बिहीबार संशोधनसहित अनुमोदन गरेको हो ।
त्यस्तै देउवा नेतृत्वको कार्यसमितिको म्याद ६ महिना थप गर्ने निर्णय भएको छ । नियमित कार्यकाल सकिएर थप एक वर्ष थप गरेर यही फागुन ७ गते कांग्रेस महाधिवेशनको मिति तोकिएको थियो । कोरोनालगायतका कारण देखाउँदै महाधिवेशन नहुने पक्का भएपछि पुन विधानको सहारामा सभापति देउवाले ६ महिना कार्यकाल थप्दै महाधिवेशनको नयाँ कार्यतालिका ल्याएका हुन् ।
विधान अनुसार सभापति देउवाको कार्यकाल फागुन १९ गते सकिँदै थियो । अब भने भदौसम्म कार्यकाल थपिएको छ ।