काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको प्रयास गरेका कारण प्रतिनिधि सभा विघटन गर्नु परेको बताएका छन्।
पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए ।
आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।
सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’
प्रतिनिधि सभालाई राजनीतिक अस्थिरताको खेल मैदान हुन नदिनका लागि र अन्य कुनै विकल्प नभएपछि विघटन गर्नु परेको जिकिर गरे।
त्यसो नगरेको भए अस्वस्थ राजनीतिक गतिबिधि बढ्ने र राष्ट्रिय राजनीति प्रदूषित हुने भएको हुँदा त्यसबाट मुलुकलाई बचाउन ताजा जनादेशमा जाने विकल्प रोजेको उनको दाबी छ।