काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) गोरखासहित देशैभर प्रदर्शन गर्दैछ । नेपाली कांग्रेस गोरखाको आयोजनामा सिरानचोक गाँउपालिकाको नयाँसागोमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
जिल्लामा हुने प्रदर्शनलाई कांग्रेसका केन्द्रीय समिति सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्नेछन् । यसैगरी पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।