काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई कण्ठित नगर्न पनि आग्रह गरेका छन् ।
राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा थापाले झाँक्रीको रिहाइको माग गरेका हुन् ।
‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’, थापाले ट्वीटरमा भनेका छन् ।
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बिहीबार प्रहरीले झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ ।
प्रहरीले झाँक्रीलाई थमाएको पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।