काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्ररुपमा काम गर्नुपर्ने बताउँदै सत्य, तथ्यका आधारमा निस्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन् ।
आयोगको ३० औँ स्थापना दिवसको अबसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारबाट भ्रष्ट अपराधी डराउने तर निर्दोष व्यक्ति खुशी हुने वातावरण बन्नुपर्ने बताए ।
सो अबसरमा प्रधानमन्त्री ओलीले आयोगले कुनैपनि व्यक्ति वा संस्थाको विरुद्ध काम कारबाही अघि बढाउँदा अदालतमा मुद्दा दायर गर्नुपूर्व नै सो व्यक्ति वा संस्थाको यर्थातता बुझ्नु पर्ने र खराब भए मात्र कारबाही प्रक्रिया अघि बढ्नु पर्ने बताए ।
‘अख्तियारबाट भ्रष्ट अपराधी डराउने हो, निर्दोष होइन । कसैले गलत गरेको छ भने उ मात्र कारबाहीको भागिदार हुन्छ । तर निर्दोष होइन । यस्तो अबस्थामा आयोग चनाखो हुन जरुरी छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि कुनै व्यक्तिको विरुद्ध मुद्दा दर्ता गर्दैगर्दा आयोगले अदालतमा मुद्दा दायर गर्नु पूर्व नै सोचोस् ।’
भ्रष्टाचार तथा अनियमितता जस्ता गलत प्रवृति नियन्त्रण गर्नकै लागि सरकारले नागरिक एपजस्ता प्रविधि अघि सारेको समेत उनले बताए ।