काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर चुनावको तयारीबारे जानकारी लिएका छन्।
मंगलबार बिहान साढे ११ बजेतिर आयोग पुगेका प्रधानमन्त्रीले वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारीबारे जानकारी लिएका हुन्।
निर्वाचन आयोगले आफूहरू चुनावको तयारीमा जुटेको र तोकिएकै समयमा चुनाव होस् भन्ने अपेक्षा गरिएको बताएको छ।
त्यसलगत्तै प्रधानमन्त्रीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए।
ओली समूहका महासचिव विष्णु पौडेलले भने चुनावको तयारीबारेमा छलफल भएको बताए। उनले पार्टी आधिकारिकताको विषयमा भने आफूहरूको पार्टी नै आधिकारिक हुने दाबी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।
ओली र प्रचण्ड—नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
तर,यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन।