काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न आज (मंगलबार) निर्वाचन आयोग जाँदैछन् ।
निर्वाचनसम्बन्धी समग्र विषयहरुमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली निर्वाचन आयोग जान लागेको ओली समुहका नेता सुवास नेम्वाङले जानकारी दिए । नेता नेम्वाङका अनुसार प्रधानमन्त्रीसहितको टोली आज बिहान ११ बजे कान्तिपथस्थित आयोगको कार्यालय पुग्नेछन्।
नेकपामा देखिएको विवादबारे छलफल गर्न निर्वाचन आयोगले गत माघ १६ गते नै ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५–५ जना नेतासहित आयोग आउन भनेको थियो । आयोगले दुवै अध्यक्षलाई बोलाएपनि दुवै पक्षले प्रतिनिधि मात्र पठाएका थिए ।
त्यसपछि नेकपाको आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू आयोग पुगेर राजनीति दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका थिए ।