• सोमबार, साउन ११ २०८३

सांसद दवाडीले गरे सामाजिक सेवामा ९ लाख सहयोग


बिहिबार, माघ २२ २०७७
1.1K
Shares

गोरखा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो तबल भक्तामा थपेर सामाजिक सेवा गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका सांसद दवाडीले एक वर्षको अवधीमा ८ लाख ९१ हजार १६६ रुपैयाँ सहयोग गरेको बताएका छन् । ‘मैले सांसद बापत पाउने रकम झण्डै ६ लाख हो । यस वर्ष कोरोनाले गर्दा केही घटेको थियो,’ उनले भने, ‘बाँकी सबै आफ्नै आम्दानीबाट थप गरेको छु ।’

निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म ९ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।

गतबर्षको पुस महिनादेखि यो बर्षको पुस महिनासम्मको रकम बिभिन्न २८ वटा शीर्षकमा खर्च भएको गरेका छन् । सौरपानीको बद्रीडाँडा युवाक्लवको भवन निर्माणका लागि ५० हजार, हर्मीको आहाले सामुदायिक भवन निर्माणका लागि १५ हजार, स्वाँराको सुलिकोट एकता समाजका लागि २५ हजार सहयोग गरेको उनले बताए । बिभिन्न आठ जना घाइते तथा बिरामीलाई उपचारलाई कुल एक लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

लकडाउन समयमा विचल्लीमा परेकाहरुलाई एक लाख १५ हजार रुपैयाँको राहत वितरण गरेको उनले बताए । गोरखा घर भई काठमाण्डौ चितवन पोखरामा अलपत्र परेकाहरुलाई समेत दवाडीले राहत उपलब्ध गराएका थिए । त्यस्तै आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न चारवटा युवाक्लवलाई खेलकुद सामग्री खरिद तथा क्लवको भवन निर्माणका लागि एक लाख ७० हजार रुपैयाँ प्रदान गरेको उनले बताए ।

मंगलबार प्रेस युनियन गोरखाले जिल्ला सदरमुकाम गोरखामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘म सामाजिक क्षेत्रबाटै राजनितिमा आएको हुँ । वर्षमा एक महिना मैले राजनितिमा खर्च गरौंला अरु ११ महिना म सधै सामाजिक काममा लागिरहन्छु ।’ समाजका गरिब, असाहायहरुलाई सकेको सहयोग गरिरहने उनले बताए ।

गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का आमा समूह, महिला समूहहरुलाई सामुदायिक भवन निर्माण, सामुहिक भाँडाकुँडा खरिद लगायतका शीर्षकमा ६३ हजार रुपैयाँ प्रदान गरेका छन् । बिभिन्न ठाउँका सडक निर्माणका लागि ९५ हजार, दुईवटा विद्यालयका लागि एकलाख, केही गुठी तथा सामाजिक संस्थाहरुका लागि एकलाख ८२ हजार रुपैयाँ प्रदान गरेको सांसद दवाडीले बताए । ‘मेरो आफ्नो विजनेस छ । त्यसको नाफाबाट प्राप्त हुने केही रकम, सांसद भएबाट प्रदेश सभाबाट पाउने तलब सबै उहाँहरुलाई खर्च गर्ने गरेको छु,’ उनले भने, ‘यो अभियान मेरो निरन्तर रहनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार