• सोमबार, साउन ११ २०८३

गोरखामा नेकपा नेतृ झाँक्रीले दिएको अभिव्यक्तिप्रति राष्ट्रपतिकी छोरी उषाकिरणको आपत्ति


सोमबार, माघ १९ २०७७
680
Shares

गोरखा । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफ्नी आमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै उषाकिरण भण्डारीले आपत्ति जनाएकी छिन् ।

नेतृ झाँक्रीले केही दिनअघि गोरखामा आयोजित विरोध सभामा प्रतिनिधि सभा विघटन गरेको रिसमा नेता मदन भण्डारीको निधनपछि विद्यादेवी भण्डारीलाई नेता बनाउनु गल्ती थियो भनेर आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘अन्यथा नहोस्, तमाम दिदीबहिनी हुनुहुन्छ, सहिदका परिवार हुनुहुन्छ, यहाँहरूलाइ भन्न खोजेको होइन, मदन भण्डारीको हत्यापछाडि सेतो सारी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतिउत्पादन हो– विद्या भण्डारी। आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ।’

यहाँ रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले झाँक्रीलाई सुनाइदिनू

१. गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ

२. गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो। अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ, सोध्नुहोस्, गएर

३. तपाईं कम्युनिस्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने। मेरो मम, एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थियो। तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ। हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मनपर्ने खानारअचार बनाउन छोड्नुभयो।

उहाँका ससाना छोरीहरू हामीले प्रश्न उठाएनौं। तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षकाले बुझ्यौँ उहाँ ट्रेजेडी (शोक) सँग कोप (सामना) गर्ने कोसिसमा यो सब गर्दै हुनुहुन्थियो। तपाईं महिला, ठूलो मान्छे भएर यति बुझ्नुभएन !!?

तपाईंलाई अर्को कुरा भन्छु—दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनुभयो। राष्ट्रप्रमुखको निधार खाली हुनु हुँदैन भन्ने मान्यताले गर्दा उहाँको बूढी आमाले उहाँलाई प्रश्न गर्नुभएन। जमरा मात्रै हातमा दिँदा तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !?

ट्रेजेडी कोप गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि भोलिन्टेरिली (स्वेच्छाले) रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन।

यदि तपाईंलाई लाग्छ— आफ्नो माया आफ्नो जीवनसाथी भन्दामाथि करिअर महत्वाकांक्षा हो भने ठाउँ साटौं। तपाईं उहाँको सिन्दुरपोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस्। अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ, लिएर जानुस्।

झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाले यो छोरीको प्रश्न सुनाइदिनू।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार