• सोमबार, साउन ११ २०८३

गण्डकी सरकार अविश्वासको प्रस्ताव सामना गर्न तयार : प्रवक्ता बस्नेत


सोमबार, माघ १९ २०७७
620
Shares

गोरखा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले सरकार बिरुद्ध अविश्वासको प्रस्ताब ल्याए सामना गर्न तयार रहेको बताएका छन् । आइतबार गोरखामा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका बस्नेतले अविश्वासको प्रस्ताव ल्याउन जरुरी नभएको तर यदी प्रस्ताब ल्याएपनि पास हुने अवस्था नरहेको दाबी गरे ।

‘गण्डकी प्रदेशमा पनि अङ्क गणितिय खेल खेल्न चाँही खोजिन्छ होला, तर खेलेर कुनै अर्थ छैन्,’ उनले भने, ‘यो अबको दुई वर्ष यही सरकारले चलाउछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै नेतृत्व नेतृत्व गर्नु हुन्छ । यसमा ढुक्क रहन म सबैलाई आग्रह गर्दछु ।’

मन्त्री मण्डल भने हेरफेर हुन सक्ने उनको संकेत गरेका छन् । ‘मन्त्रिमण्डल हेरेफेरको अधिकार मुख्यमन्त्री ज्यूलाई नै छ, अरु मन्त्री भने आवश्यकताका आधारमा हट्न र थपिन सक्छन्,’ मन्त्री बस्नेतले भने ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य समेत रहेका बस्नेत केही दिन यता कार्यकता प्रशिक्षणमा व्यस्त छन् ।

ढुङ्गागाडे–नाम्जुङ र चोरकाटे–चित्रेपोखरी सडक यसै वर्ष कालोपत्रे

गण्डकी प्रदेश सरकारले बिकास निर्माणका कामलाई तिब्रता दिएको मन्त्री बस्नेतले दाबी गरेका छन् । गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले रणनैतिक सडक निर्माणमा उल्लेख्य प्रगति भएको बताए ।

‘म आफै नियमित रुपमा अनुगनमा पुगिरहेको छु । आज (आइतबार) पनि ढुङ्गागाढे–नाम्जुङ सडक अनुमन गर्न यहाँ आएको हुँ । तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीहरुसँग बारम्बार छलफल भइरहेको छ,’ उनले भने, ‘यहाँ मात्र होइन ११ वटै जिल्लामा यस्तै काम भइरहेको छ । हामी युद्धस्तरमा लागिरहेका छौं ।’

ढुङ्गागाडे–बुकोट–नाम्जुङ सडक र चोरकाटे–चित्रेपोखरी सडक यही आर्थिक वर्ष भित्र कालोपत्रे भइसक्ने उनले बताए । गण्डकी प्रदेशले जिल्लाका ९ वटा ठूला सडक स्तरोन्ती गरिहेको मन्त्री बस्नेतले बताए । त्यसले जिल्लाको बिकासमा टेवा पु¥याउने उनको विश्वास छ ।

‘अहिलेसम्मको काम प्रगती हेर्दा सबै बाटाहरु समयमै सकिने देखिन्छ । अझ यहाका दुई वटा सडक यसै आर्थिक वर्ष भित्रै सम्पन्न हुने अबस्थामा पुगेका छन्,’ उनले भने, ‘नारेश्वर–निबेल सडक पनि यसै वर्ष पिच सुरु हुन्छ । बारपाक–लाप्राक सडक, माछाखोला–गुम्दा, पालुङ्टारको राधाकृष्ण मन्दिर–बिरुवाटार सडकको प्रगती पनि राम्रो छ ।’

गण्डकी प्रदेशमा मध्यपहाडी लोकमार्गको काम प्रभावकारी बनाउन प्रदेश सरकारले पहलकदमी लिएको उनले बताए । जसअनुसार बिवाद भएका ठाउँमा पुगेर सहजिकरण गरिएको मन्त्री बस्नेतको भनाई छ । ‘हुन त मध्य पहाडी लोकमार्ग केन्द्रिय सरकारको योजना हो ।

हाम्रै प्रदेशमा पनि विभिन्न ठाउँमा विवाद हुँदा यसको काम निर्वाद रुपमा अघि बढ्न सकेन । अनि मेरै नेतृत्वमा विवाद समाधान समिति पनि बनाइएको छ,’ उनले भने, ‘लम्जुङ क्षेत्रमा रहेको समस्या हामीले लगभग समाधान गरेका छौं । गोरखामा पनि केही कठिनाइँहरु छन्, त्यसलाई फुकाएर काम अघि बढाउन हामीले पहलकदमी गरिहरहेको अबस्था छ ।’

उत्तरी गोरखाको रुइला नाका खोल्ने र त्यहाँबाट सडक बिस्तार गर्नका लागि छिमेकी मुलक चिनसँग कुटनितिक पहल समेत भइरहेको मन्त्री बस्नेतले बताएका छन् । उक्त सडक निर्माण गर्नका लागि प्रदेश सरकारले नियमित रुपमा बजेटको व्यवस्था गरेपनि नाका खोल्ने बिषय सहमती नबन्दा सम्म काम गर्न नसकिएको उनको भनाई छ ।

‘पराराष्ट्र मन्त्रालयले तिब्बत सरकारलाई पत्राचार गरेर उताबाट पत्र आइसकेपछि मात्र हामीले इकुप्मेन्ट लिएर जान पाउने भएयौं,’ उनले भने, ‘अहिले तलबाट मेसिन लगेर बाटो खन्न सकिने अबस्था छैन ।’ पत्र प्राप्त हुने बित्तिकै नाका खोल्ने प्रक्रिया सुरु हुने उनले बताए । उक्त नाकासम्म सडक बिस्तार गर्न गण्डकी प्रदेश सरकारले एक पटक ४ करोड र एक पटक दुई करोड बजेट बिनियोजन गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार