काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन् ।

शहीद दिवसका अवसरमा सन्देश दिँदै ओलीले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको बताएका छन्। शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उनको भनाई छ।
देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई सबैले एकजुट भएर पराजित गर्नुपर्नेसमेत प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
शहीद दिवसले सबैलाई समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा उनले गरेका छन् ।
जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए।