काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कदमविरूद्ध आन्दोलनमा जाने सर्वसम्मत निर्णय गरिएको भन्दै यसबारे पार्टीभित्र बिवाद नरहेको बताएको छ।
सभापति शेरबहादुर देउवा आन्दोलनमा जाने पक्षमा नरहेको दाबीसहित सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको भन्दै कांग्रेसले सभापतिकै निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनका कार्यक्रम प्रस्ताव गरेर केन्द्रीय समितिबाट पारित भएको उल्लेख गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर आन्दोलनमा जाने सर्वसम्मत निर्णय भएको बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेस आन्दोलनमा रहेको उनको भनाइ छ।
‘संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ।
संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएको कांग्रेसले बताएको छ।
यस्तै माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गरेर बैठकले सर्वसम्मतिले नै पारित गरेको पौडेलले जनाए।
कांग्रेसले माघ १९ गते सोमबार, माघ २४ गते शनिबार र फागुन ३ गते सोमबार आन्दोलन गर्ने बताएको छ।
