काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड—नेपाल समूहले आजदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्दैछ ।

तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत प्रचण्ड—नेपाल समूहले आजदेखि एक हप्तासम्म माइतीघरमा धर्ना दिने भएको छ । धर्नामा संविधानसभा सदस्य, पूर्व सांसद, प्रदेश सांसद लगायतको पनि सहभागिता रहनेछ ।
यसअघि गएको पुस १४ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल माइतीघरमै धर्ना बसेर प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएका थिए । त्यसयता लगातार आन्दोलन गरिरहेको प्रचण्ड—नेपाल समूहले बुधबारदेखि माइतीघरमा फेरि धर्ना सुरु गर्न लागेको हो ।
यसअघि मंगलबार काठमाडौँमा सिटी जुलुस गरिएको थियो । प्रचण्ड—नेपाल समूहले माघ २८ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।