काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।
यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई ‘बाजे’ र संवैधानिक इजलासमा भइरहेको बहसलाई लक्षित गर्दै ‘तमासा’ भनेका थिए। सोहीविरुद्ध आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कानुन व्यवसायी, राजनीतिक दलका नेता, नागरिक सञ्जालगायतबाट चर्को विरोध भइरहेको छ।