काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मासेर गरिने चुनावले दुर्घटना निम्त्याउने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल ट्विटर मार्फत पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको र पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिएको भन्दै त्यसले ठूलो दुर्घटना निम्त्याउने बताएका हुन्।

उनले ०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपी कोइरालाले खाएको धोका नबिर्सौं भन्दै २०१७ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत सचेत गराएका छन्।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ। २०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपीले खाएको धोका नबिर्सौं! २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं!’, डा. भट्टराईले ट्विटरमा लेखेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ मा चुनावको मिति तोकेपछि त्यसको विरोधमा जसपा आन्दोलनमा छ ।