गोरखा । गोरखाका मतदान केन्द्र र स्थलहरु हेरफेर हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेसँगै चुनाबको तयारी सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले पहिलो चरणमा मतदान केन्द्र र स्थलहरुको अध्यावधी गर्ने काम सुरु गरेको छ । जसअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले छलफल जारी राखेको छ । माघको ५ गतेसम्म विवरण संकलन गरी ९ गते सिफारिस समितिको बैठक बसेर मतदान केन्द्र र स्थलको विषय टुग्याउने पूर्वर्निधारित कार्यक्रम थियो । तर अधिकाशं स्थानीय तहले विवरण नपठाउँदा शुक्रबारको बैठकले ठोस निर्णय गर्न नसकेको टेकबहादुर कोइरालाले बताए ।
‘उहाँको विवरण प्राप्त हुन सकेन त्यसै बैठकमा पनि खास ठोस निर्णय हुन सकेन,’ उनले भने, ‘स्थानीय तहको विवरण प्राप्त भएपछि बैठक बसेर निर्णय गर्छौ । केन्द्र एवं स्थलहरुको अबस्था के कस्तो छ, सुधार गर्नुपर्ने, सच्चाउनु पर्ने, अथवा सार्नुपर्ने अबस्था छ भने पनि अनुगमन गरेर आवश्यक सुझाव समितिलाई पेस गर्ने सरोकारवाला सबैलाई निर्वाचन कार्यालयले अनुरोध गरेको थियो । २०७४ सालको निर्वाचनमा कायम भए अनुसार गोरखामा २१३ मतदान स्थल र २८२ मतदान केन्द्र रहेका छन् ।
यसैवीच जिल्ला निर्वाचन कार्यालयले मतदाताको नाम अध्यावधी समेत सुरु गर्ने तयारी गरेको छ । पुसको पाँच गतेसम्म मतदाता नामावलीमा नाम लेखाएकाहरुको त्रुटी सच्चाउने, मृत्यु भएकाहरुको नाम हटाउने, दोहोरो नाम समावेश भएका छन् भने एकोहोरो बनाउने काम पनि छिट्टै सुरु हुनेछ । अपायक परेर मतदान केन्द्र वा स्थल परिवर्तन चाहेनेहरुलाई पनि मौका दिइने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा विघटन गरेर सरकारले मध्यावधी निर्वाचन घोषणा गरेपछि त्यसको बिरोध र समर्थन जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा बाहेक अधिकाशं राजनितिक दलहरु सरकारको बिरोधमा छन् । मिति घोषणा भएपनि राजनितिक दलहरु वीच दुरी बढेकाले तोकिएको समयमै निर्वाचन हुनेमा भने धेरैको आशंका छन् ।
नेकपाको आन्तरिक बिरोध, प्रतिनिधि सभा विघटनका विरुद्धमा सर्वोच्च अदालतमा परेका उजुरी र अहिलेको राजनितिक गतिरोध अन्त्य नभएसम्म निर्वाचन हुन असम्भव रहेको बिज्ञहरु बताउँछन् । तर सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयहरुले भने तयारी तिब्र पारेका छन् ।