काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।
प्प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा आयोजित विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो। आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने एक नेताले बताए ।