• सोमबार, साउन ११ २०८३

सबै दल एक भएर संयुक्त जनआन्दोलन गरौं : बाबुराम भट्टराई


शुक्रबार, माघ ९ २०७७
655
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुनःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे ।

संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने डा.भट्टराईले औंल्याए ।

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको डा.भट्टराईको विश्लेषण छ ।

असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै डा.भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्ने डा.भट्टराईले बताए । संसद विघटनको घटना हिमशिखरको टुप्पो देखिएको अवस्था मात्र हो भन्दै डा.भट्टराईले अदालतबाट यो नसच्चिए हिम शिखर फुटेजस्तै जोखिम हुने औंल्याए ।

ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने डा.भट्टराईको धारणा छ । नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको डा.भट्टराईले बताए ।

पत्रकारको जिज्ञासामा डा.भट्टराईले संसद पुनस्थापनापछि आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारे । प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आफ्नो पार्टी प्रदेश सरकारमा पनि सहभागी नहुने डा.भट्टराईको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार