काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ।
नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता उतार्रे दावी गरेको छ। त्यसका लागि नेकपाले उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका धादिङ, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, चितवनबाट समेत नेता कार्यकर्तालाई काठमाडौँ उतारेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरेको थियो।
प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष समितिका संयोजक योगेश भट्टराईका अनुसार उपत्काका विभिन्न ९ स्थानबाट जुलुस निकाल्न लागिएको हो। ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।
अहिले जलुस सुरु हुने स्थानमा कार्यकर्ताहरु जम्मा हुन थालिसकेका छन्।