काठमाडौं । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना सँगसँगै ओली भाइरससँग लड्नु पर्ने बताउनुभएको छ ।
आज (बिहीबार) सामाजिक सञ्जाल ट्वीटर मार्फत पूर्व प्रधानमन्त्री डा. भट्टराईले कोरोना सँगसँगै ओली भाइरससँग लड्नु पर्ने बताएका हुन् ।
कोरोनाविरूद्धको खोप सरकारले अन्यत्रबाट मागेर ल्याएकोबारे पनि डा.भट्टराईले टिप्पणी गरेका छन् । डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएको प्रसंग उल्लेख गर्दै भट्टराईले बाँकी जनतालाई कहिले खोप दिने भन्ने पनि प्रश्न गर्नुभएको छ ।
भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुगेको छ । हिजो (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभएको थियो ।
यही प्रसंगमा डा.भट्टराईले बिहीबार बिहान ट्वीट गर्दै ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! अहिले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे। बॉकीलाई कहिलेसम्म होला ? कता हात थाप्ने होला ? फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ !’ उनले लेखेका छन् ।