काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विक हातहतियारसहित पक्राउ परेका छन् ।
उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए ।
लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।
उनको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार, सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु तथा को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
प्रहरी अनुसन्धानमा उनी २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोपी समेत रहेको खुलेको डिएसपी राईले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।