• शनिबार, साउन ९ २०८३

काँग्रेसलाई बाबुरामले प्रधानमन्त्रीको ‘अफर’ गर्नु पर्दैन : पाण्डे


शनिबार, माघ ३ २०७७
925
Shares

गोरखा । नेपाली काँग्रेसलाई प्रधानमन्त्री पदमा अफर गर्नु नपर्ने केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले बताएका छन् । शनिबार नेपाली काँग्रेस गोरखा नगर कमिटीद्धारा संसद विघटनका बिरुद्ध आयोजित बिरोध सभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन ।

शुक्रबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको अभिब्यक्तिप्रति संकेत गर्दै काँग्रेस नेता पाण्डेले बाबुरामले प्रधानमन्त्रीको अफर गर्दैमा काँग्रेस नउक्सिने बताएका हुन ।

‘बाबुरामले अबको प्रधानमन्त्री देउवा भन्दैमा काँग्रेस उक्सिदैन’ नेता पाण्डेले भने ‘काँग्रेसको आफ्नै सिद्धान्त र विचार छ, बाबुराम, प्रचण्ड र माधवले उचाल्दै र पछार्दैमा काँग्रेस विचलित हुदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अदालतले सच्याउनुपर्नेमा जोड दिदै उनले कम्युनिष्टका कारण देश अस्थिरतामा गएको आरोप लगाए । जनताले नेकपालाई ५ बर्ष देशको बागडोर सम्हाल्न दिएको जिम्मेवारीलाई बिचैमा तुहाएर नेकपाले नागरिकको विश्वासको बलत्कार गरेको समेत उनले बताए ।

‘जनताले कम्युनिष्टलाई ५ बर्ष देशको नेतृत्व गर्न मत दिएका थिए, विश्वास र जिम्मेवारी दिएका थिए’ पाण्डेले भने ‘जनताको त्यो विश्वासलाई नेकपाले बलत्कार ग¥यो, जिम्मेवारीबाट भाग्यो, अब यो कुरा जनताले बुझ्न जरुरी छ ।’

संसद विघटनबारे संविधानको ब्याख्या गर्ने अधिकार न्यायालयको रहेको भन्दै अदालतलाई स्वतन्त्र पूर्वक काम गर्न दिनुपर्नेमा उनको जोड थियो । अदालतको जुनसुकै फैसला काँग्रेसलाई मान्य हुने समेत उनले बताए ।

‘संविधानको अन्तिम ब्याख्या गर्ने जिम्मेवारी र अधिकार न्यायालयलाई हुन्छ, तर आज न्यायालयमाथी पनि हस्तक्षेप हुने काम भइरहेको छ’ पाण्डेले भने ‘संसद पुर्नस्थापना भए संसदमा बसेर बहस गर्न र चुनावी प्रकृयामा गए त्यसलाई सामना गर्न काँग्रेस तयार छ, पहिला स्वतन्त्र पूर्वक अदालतलाई काम गरेर फैसला गर्न दिउँ ।’ आफ्नै पार्टी सम्हाल्न नसक्ने नेकपालाई देशमा नेतृत्व सुम्पनु गम्भिर गल्ती भएको समेत उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले कम्युनिष्ट सरकारका कारण जनताले दुख पाएको बताए । बेरोजगारी, भ्रष्ट्राचार, अनियमितताका बिरुद्ध काँग्रेस सडकमा रहेको तर्क गर्दै न्यौपानेले नेकपाले देशसंगै संविधान पनि लुटेको आरोप लगाए ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नेकपाभित्रको स्वार्थ र पदको लिप्साका कारण देश बर्बादी तर्फ गएको जिकिर गरे । पन्तले ओली र प्रचण्ड देशका लागि अहितकारी रहेको समेत बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका महाधिवेशन प्रतिनिधी राजेन्द्र बजगाँईले ओली र प्रचण्डको ब्यक्तिगत स्वार्थका लागि एमाले र माओवादी एक भएको र स्वार्थ पूरा नभएपछि एकता फाँडेर देशलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाए ।

त्यस्तै काँग्रेसका क्षेत्र नम्बर १ का सभापति धिरन थापाले नेपाली जनतालाई सरकार छ भन्नेसम्म पनि महसुस नभएको बताए । उनले देशमा कम्युनिष्टको नेतृत्वमा कुनै पनि परिवर्तन भएको इतिहास नेपालमा नरहेको समेत बताए ।

नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य एवं गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेपाली काँग्रेसका संगठन विभागका केन्द्रिय सदस्य भुगोल थापा, तरुण विभागका केन्द्रिय सदस्य ध्रुव पन्त, नेविसंघकी केन्द्रिय सदस्य पम्फा गान्धारी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) लगायतले प्रधानमन्त्रीको कदमको कडा रुपमा बिरोध गर्दै मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार