काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिन तयार हुनुपर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै काम चलाउ प्रधानमन्त्री अब पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुने नेपालले बताए । ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको उनको भनाइ छ।
पार्टीमा आफूसँग ७२ प्रतिशत रहेको भन्दै ओलीले विधान विपरित केन्द्रीय संख्या थप्दै गएको नेपालले बताए । ओलीमाथि थप कदम चाल्नुपर्ने अवस्था आएको र आजको बैठकमा गम्भीर छलफल हुने नेपालले बताए । उनले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने बताए ।
अहिलेको अवस्था आउनुमा ओलीको ९९ प्रतिशत गल्ती रहेको वामदेव गौतमले नै भनेको उनले बताए । केही गल्ती आफूबाट पनि भएको उनले बताए ।
केपी ओलीबाट नभएको प्रचण्डबाट भएको उनले बताए । ‘म प्रचण्डसँग गएको भनिएको छ । त्यो होइन । हिजो प्रचण्डले भनिसक्नुभएको छ । हामी दुबै जना समान अध्यक्ष हौँ । यसअघि स्थायी समिति बैठकको नेतृत्व मैले गरेँ । म पहिलो अध्यक्ष भएँ । अब प्रचण्डले बैठकको अध्यक्षता गर्नुहुन्छ । उहाँ पहिलो अध्यक्ष हुनुहुन्छ । यो कुरा केपी ओलीबाट भएन । आज प्रचण्डबाट भएको छ। अब भन्नुहोस् को राम्रो ?’ नेपालको प्रश्न थियो ।
नेपालले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहनेमा आश्वस्त हुन कार्यकर्तालई आग्रह गरे ।