काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् ।
बैठक तीन दिनसम्म चल्ने छ । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने मन्त्रालय स्रोतले जनाएको छ।
भ्रमण सकेर माघ ३ गते मन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ।