काठमाडौं । नेकपा प्रचण्ड—नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ।
बुधबार नेकपा प्रचण्ड—नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह—संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताए। संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाई छ।
अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नदिएको बताए। प्रधानमन्त्री ओलीलाई संविधानले धेरैदिन बालुवाटार बस्ने अधिकार नदिएको उनको भनाई छ।
अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ। असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ।