• सोमबार, साउन ११ २०८३

पृथ्वी नारायण शाहको इतिहास कसैले मेटेर मेटिदैंन : मेयर पन्त


बुधबार, पुष २९ २०७७
830
Shares

गोरखा । पृथ्वी नारायण शाहको जन्मस्थल गोरखामा तिन दिनसम्म बिभिन्न कार्यक्रम गरी २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । बर्तमान नेपालका निर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहको सम्झना गर्दै एकता दिवश मनाइएको हो ।

पछिल्लो समय पृथ्वीनारायण शाह र उनका सहयोगीहरुको योगदानलाई बिर्सने काम भएको भन्दै इतिहासको जगेर्ना र प्रचार प्रसारका लागि भन्दै गोरखा नगरपालिकाले ३ दिनसम्म बिभिन्न कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको समापन गर्दै नगरप्रमुख पन्तले इतिहासलाई कसैले मेटेर नमेटिने बताएका छन् । पृथ्वीजयन्ती मनाउने क्रममा नगरपालिकाले बिभिन्न आरोप र दवाव सहनुपरेको बताउदै पन्तले दिवश मनाउदैमा राजतन्त्र नफर्किने दावी गरेका छन् ।

इतिहासको जगेर्नाका लागि आगामी दिनमा नगरपालिकाले अझै प्रभावकारी अभियान अघि सार्ने योजना रहेको जानकारी दिए । गोरखा नगरको सम्पत्ती नै इतिहास रहेको बताउदै उनले यसको संरक्षण र प्रचार प्रसार गर्न सके मात्रै आन्तरिक तथा बाह्य पर्यटक भित्रिने र समृद्ध गोरखा निर्माण हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमको अन्तिम दिन हिजो मंगलबार गोरखा नगरपालिकाले बिभिन्न खेलका अन्तराष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।

गोरखा नगरक्षेत्रमा घर भई अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी तथा पदक प्राप्त खेलाडीहरुलाई सम्मान गरिएको नगरप्रमुख पन्तले बताए । खेलकुद मार्फत गोरखा र नेपालको नाम विश्वमा चिनाएको भन्दै उनिहरुलाई सम्मान गरिएको उनले बताए । जसमा एथलेटिक्सका टिका बोगटी, उत्तम केसी, ज्ञान बहादुर बोहोरा, सोम बहादुर कुमाल, दल बहादुर थापा रहेका छन् । यसैगरी भारत्तोलनका अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका राम कुमार श्रेष्ठ, जुडोका खेलाडी होम बहादुर थापा, ऋषिराम प्रधान र सुटिङका खेलाडी सरस्वती बाँनियालाई नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विना कुमारी श्रेष्ठले दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरेका हुन ।

यसैगरी मंगलबार नै भएको कार्यक्रमका बिच गण्डकी प्रदेश स्तरीय मेयर कप फुटबलमा प्रथम स्थान हासिल गर्ने गोरखा नगरपालिकाका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई समेत जनही नगद १०÷१० हजार सहित सम्मान गरिएको छ । अघिल्लो बर्ष पालुङटारमा भएको प्रतियोगितामा गोरखा नगरपालिकाको टिमले प्रथम स्थान हासिल गरेको थियो ।

यसैगरी कार्यक्रमकै बिच दिवशका अवसरमा गोरखा युथ क्लबको संयोजनमा आयोजना गरिएको खुला दौड प्रतियोगितामा प्रथम नेपाली सेनाका रामजी बस्नेतलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाकै सुनिल थापालाई १० हजार, तेस्रो भएका पूर्णबहादुर गुरुङलाई ५ हजार, चौथो र पाँचौ भएका सुरज योगी चौथो र सुमन थापा मगरलाई नगद २/२ हजार पुरस्कार प्रदान गरिएको नगरपालिकाका वातावरण विज्ञ ध्रुब घिमिरेले बताए ।

पृथ्वीजयन्तीको समापन कार्यक्रममा नगरपालिकाले गोरखा जेसिजको सहकार्यमा नगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको छ । जसमा गोरखा नगरपालिका ९ लक्ष्मी बजारका सरोज बाबु घिमिरे प्रथम भएका छन् भने द्रब्यशाह बहुमुखी क्याम्पसका विपना गान्धारी द्धितिय, महेन्द्र मावि कुन्दुरटारका सन्दिप परियार तृतिय र शक्ति मावि पाटेचौरका जेनिशा अंगाई सान्त्वना भएका छन् । उनिहरुलाई क्रमश ५, ३, २ र १ हजार नगद पुरस्कार प्रदान गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार