• सोमबार, साउन ११ २०८३

सी र मोदीबीच मध्यस्थता गर्न सक्छु : ओली


मंगलबार, पुष २८ २०७७
815
Shares


काठमाडौं । नेपालको काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनिफङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मध्यस्थता वार्ता गर्न सक्ने दाबी गरेका छन्।

भारतीय टेलिभिजन जीन्युजमा सोमबार राती प्रशारण भएको लाइभ अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले हिन्दीमा भने, ‘म सी र मोदीबीच मध्यस्थता गर्न सक्छु।’

तपाईं सी र मोदीबीच मध्यस्थता गराउन चाहनुहुन्छ ? भारतीय पत्रकारको प्रश्नमा ओलीले जवाफ दिए, ‘अवश्य। हामी साथी हौं र उमेरमा एक दुई वर्षले मात्र फरक छौं। म दुवै पक्षलाई वार्तामा बसौं भन्न सक्छु।’

लद्दाखको गलवान क्षेत्रमा भएको सैन्य भिडन्तमा २० जना भारतीय सैनिक मारिएपछि सात महिनादेखि भारत र चीनबीच तनाव बढिरहेको छ। चीन र भारतबीच तनाव उत्कर्षमा पुगेका बेला ओलीले भने आफुले दुई छिमेकीबीच मध्यस्थता गराउन सक्ने दाबी गरेका हुन्।

दिल्लीबाट आएको जीन्युजको टिमसँगको करिब एक घन्टा लामो अन्तर्वार्तामा पनि ओलीले सन्दर्भ बाहिरका भनाइ नै धेरै राखे, जुन प्रायः उनको मन्तव्य र अन्तवार्तामा आउने गर्छ।

ओलीले आफुले दुई छिमेकीसँग समस्यारहित सौहार्दपूर्ण सम्बन्ध चाहेको बताए।

‘दुई ठूला छिमेकी लडे भने हामी समस्यामा पर्छौं। हामी दुवै छिमेकीबीच विश्वासको सम्बन्ध होस् भन्ने चाहन्छु’, ओलीले भने, ‘नेपाल तटस्थताको नीतिमा चल्छ, कसैको पक्ष लिँदैन। हामी कसैको विरुद्ध हाम्रो जमिन, हाम्रो आकाश प्रयोग हुन दिँदैनौं।’

अर्को एक प्रश्नमा ओलीले चुनावपछि पनि सायद आफ्नै समूहले सरकार बनाउने र सरकारको नेतृत्वमा आफैं रहने दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार