• सोमबार, साउन ११ २०८३

बाबुरामको प्रश्न : केपी ओलीलाई बोक्न खोजेको हो ?


शनिबार, पुष २५ २०७७
730
Shares

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दुई छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोक्न खोजेको त होइन भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणमा आएकाले शंका उत्पन्न भएको उनले बताए ।

‘उत्तर र दक्षिणबाट मान्छेहरु आए, के उनीहरु चियाँ खाएर गफ गर्न आएका होलान ? केपी ओलीसँग चिया मात्रै खाएर गए होलान ? ‘उनले भने ‘धेरै कुरा आइसकेका छैन, तर दालमे कुछ काला हे भने झै शंका गर्ने ठाउँ छ ।’

अघि भने, ‘दक्षिण र उत्तरका मित्रहरुलाई म आग्रह गर्न चाहन्छु, हिजो महेन्द्रहरुलाई ३० वर्ष बोक्नुभयो । ज्ञानेन्द्रलाई पनि बोक्नुभयो । अहिले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर यो देशमा अशान्ति ल्याउन खोज्नु भएको हो ?’

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले हिटलर प्रवृतिका ओलीलाई छिमेकीले समर्थन गर्न नमिल्ने बताए । आफूहरु सबै छिमेकीसँग असल सम्बन्ध राख्ने पक्षमा रहेको भन्दै उनले भने, ‘छिमेकमा आगो लाग्दा तपाईँको घरमा पनि नसल्किएला भन्न सकिन्न ।’

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्कीपूर्ण भाषा प्रयोग गरेको थालेको भन्दै उनले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भनेर आश गर्न सकिने, तर भर गर्न नहुने उनले बताए । भट्टराईले भने, ‘यसका लागि जनताको खबरदारी आवश्यक पर्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार