काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् ।
सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरे ।
उनले प्रधानमन्त्रीले पदमा रहने आफ्नो योग्यता गुमाएको पनि टिप्पणी गरे । संविधानअनुसार प्रधानमन्त्री रहन संसद सदस्य रहनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक हुनुपर्ने उल्लेख गरेको भन्दै रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरे ।
सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको पनि बदनाम गरेको रायमाझीले टिप्पणी गरे । राष्ट्रपतिलाई हरेक कागजमा सही गराउने ? ‘उहाँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो रु नेकपाको कार्यकर्ता हो ?’ रायमाझीले प्रश्न गरे ।
सरकारले राष्ट्रपतिलाई प्रभावमा पारेर महिलाहरु काम गर्न असक्षम भएका हुन् भन्ने प्रश्न खडा गरिदिएको पनि बताए ।
प्रधानमन्त्री ओलीका कारण गणतन्त्र मुलुकको लागि अफापसिद्ध हो भनेर प्रचार गर्नेहरु हौसिएका रायमाझीले बताए ।