पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास खर्च बढ्ने दाबी गरेका छन् । प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेशमा यो वर्ष ९० प्रतिशतसम्म पुँजीगत खर्च बढ्ने बताएका हुन् ।
कोरोना महामारीमा पनि अरु प्रदेशको तुलनामा गण्डकीले उल्लेख्य आर्थिक बृध्दिदर हासिल गरेको उनको भनाइ थियो ।
अर्थ मन्त्रालयले ल्याएको एकीकृत कार्यविधी अनुसार चल्दा प्रदेशका ३ सय ५४ बहुवर्षीय योजनाका लागि रकम पुग्ने उनले बताए । आगामी आर्थिक वर्षमा प्रदेशको बजेट खुम्चिन सक्ने भएपनि योजनाहरुका लागि रकम अपुग नहुने उनको धारणा थियो ।
प्रदेशमा स्वास्थ्य सुधारका काम नभएको भनि ‘गलत प्रचार’ गरिएको भन्दै उनले आधारभूत परिवर्तनहरु भएको बताए । प्रदेशले स्वास्थ्यमा जनशक्ति र पूर्वाधार विस्तारको काम गरेको उनको दाबी थियो । प्रदेशले काठमाडौंका मानिस पोखरा आएर उपचार गर्ने गरी योजना बनाएको मुख्यमन्त्री गुरुङले दाबी गरे ।
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २६ गते बस्ने गरी सकिएको छ । गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृध्दि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
त्यसै अनुसार मंगलबार १ बजे विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशनमा सरकार र प्रतिपक्षी मिलेर कोभिड नियन्त्रणका लागि संकल्प प्रस्ताव र अन्य सार्वजनिक जरुरीका मुद्दामा ‘सार्वजनिक महत्वका विषय’ ल्याउने तयारी गरेका छन् ।