काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–नेपाल समूहले ओलीलाई दुवै पदबाट हटाउन खोजेका कारण समस्या आएको बताए।
आइतबार रुपन्देहीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पार्टी एकताका लागि प्रधानमन्त्री ओली लचक भएर एक पद छाड्न तयार भए पनि दुवै पद मागेका कारण समस्या भएको बताएका हुन्।
उनले प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले अध्यक्ष माग्दै हिँड्नुको कुनै तुक नभएको बताएका छन्। मन्त्री रायमाझीले प्रचण्ड–नेपालले पद माग्दै सडकमा झरेको र जनतामा जान अझै बाँकी रहेको बताए।
उनले एकताको क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो अध्यक्ष भएको र संसदीय दलको नेतामा पनि पपहिलो अध्यक्ष सर्वसम्मत रुपमा चयन भएको बताउँदै सहमति विपरीत अविश्वासको प्रस्तावको तयारी भएपछि संसद विगठन गर्नु परेको बताए।
उनले सरकारलाई काम गर्न नदिने र काम गर्न सकेन भनेर बदनाम गर्ने काम प्रचण्ड–नेपालबाट भएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी चलाउने समहतिविपरीत अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आँखा लगाएको आरोप लगाए।