काठमाडौं । नेकपा (प्रचण्ड—नेपाल) पक्षका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप लगाएका छन् ।
नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको पुनको भनाइ छ ।
नेता पुनले प्रधानमन्त्री ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको आरोप पनि लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए ।
ओली नेतृत्वको वर्तमान सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उनले गरे ।
नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणीसमेत गरे ।
एक फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिह्न आफूहरुले पाउनेमा शंका नरहेको बताए ।