काठमाडौं । आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज (शुक्रबार) देखि राष्ट्रियसभाको अधिवेशन सुरु हुन लागेको हो। दिउँसो ४ बजेबाट अधिवेशन सुरु हुने संसद सचिवालयले जनाएको छ।
आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ ।
अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।
त्यसपछि अधिवेशन प्रारम्भ भएको अवसरमा संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची राखिएको छ ।
अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।
यसबीचमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।
अन्तिममा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । यसबीचमा सानु शिवा, सूर्यबहादुर केसी, ओमकार प्रसाद गौचन, दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधन भएको थियो ।
दुई वर्ष कार्यकाल बाँकी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बस्न लागेको राष्ट्रिय सभाको बैठकलाई चासोको रुपमा हेरिएको छ। प्रतिनिधिसभा विघटनाको विषयलाई राष्ट्रियसभामा उठाउने तयारी सत्तापक्ष र विपक्षी दलका सांसदले गरेका छन्।