काठमाडौं । नेकपाका प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन्।
बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेसँगै भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।
त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गरेका छन् ।
आचार्यसँगै जीवन घिमिरे, इन्द्रबहादुर आङबो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ लिम्बु र कुसुम कुमारी श्रेष्ठलाई निलम्बन घोषणा गरिएको छ ।
यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्री पदबाट हटाएका छन् भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राईले भने अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधेका थिए ।
जवाफ पेश नगरेकाले राईद्रारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’