काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले प्रओली पक्षनै वैद्यानिक भएको दाबी गरेका छन् ।
राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी भनेको ओली नेतृत्वको नेकपा भएको दाबी गरेका हुन् ।
पूर्वमाओवादी नेता समेत रहेका उद्योगमन्त्री भट्ट यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाड्दै ओली खेमामा देखिएका छन् । कार्यक्रममा उनले अध्यक्ष प्रचण्डको खुलेर आलोचना गरे ।
प्रचण्डले आफै अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याएको भन्दै अहिले सडकमा गएर फेरि आफै गणतन्त्र र संघीयता खतरामा परेको भनेर कराउन थालेको भट्टले बताए ।
प्रचण्ड र माधव नेपाल समुहले केवल पदका लागि पार्टी फुटाएको पनि भट्टले आरोप लगाए । ‘केपी ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा वहाँले हिम्म्त गर्नु सक्नुभएन । वहाँले पदका लागि पार्टी फुटाएको हो,’ उनको भनाइ थियो ।
प्रचण्ड र माधव नेपाल समुह विचार र दृष्टिविहीन भएको आरोप लगाउँदै शान्तिप्रक्रिया आएपछि प्रचण्डले अहिलेसम्म एक दिन पनि घाइते, बेपत्ता र सहिद परिवार नसम्झिएको आरोप लगाए ।