काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड—माधव पक्षका मन्त्रीहरुलाई नहटाउने बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएको छ ।
तर गण्डकीमा प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव ल्याएको छैन भने ओली समूहमा रहेका मुख्यमन्त्री गुरुङले अर्को समूहका मन्त्रीहरुलाई हटाएका पनि छैनन् ।
मुख्यमन्त्री गुरुङका अनुसार प्रचण्ड—माधव पक्षका मन्त्रीहरुले आफैं राजीनामा दिए हट्ने नत्र नहटाउने बताए ।
मुख्यमन्त्री गुरुङले संसद विघटनको बचाउ गरे । संसद भंग गरेर प्रधानमन्त्रीले अप्रजातान्त्रिक काम गरेको भन्नु गलत भएको उनको दाबी छ ।
उनले नेपालमा देशभक्त नेतालाई खुइल्याउन र अस्थिरता फैलाउने प्रयास भइरहेको बताए ।
मदन भण्डरीको अवसानपछि नेतृत्वमा माधवकुमार नेपाल देखिए पनि विचारको नेतृत्व केपी शर्मा ओलीले गरेको दाबी गरे ।
भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुख आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुलाई गलत ढंगले बुझिएको उनको दाबी छ । भारतका प्रधानमन्त्रीले मेरो मान्छे भेटिदिनुपर्यो भनेपछि नेपालका प्रधानमन्त्रीले भेटेको गुरुङले बताए ।