काठमाडौं । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
यी पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।
यस्तै उपराट्रपति नन्दबहादुर पुन पासाङले शुभकामना व्यक्त गर्दै अहिले जनतामा नैराश्यता आएकोले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।