• आइतबार, साउन ३१ २०८३

काँग्रेस सभापति देउवासँग चिनियाँ टोलीको भेटवार्ता


मंगलबार, पुष १४ २०७७
785
Shares

काठमाडौं। चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको नेतृत्वको टोलीले विहान देउवा निवास बुढानीलकण्ठमा पुगेर उनलाई भेटेको हो ।

भेटमा सभापति देउवासहित काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का, परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई समेत रहेका थिए । भेटमा नेपाल–चीनको सम्बन्ध बारे कुराकानी भएको भट्टराईले बताए । देउवासँगको भेटमा वर्तमान परिस्थितिबारे कुनै संवाद नभएको साथै शिष्टाचार भेटघाट मात्र भएको उनको भनाइ छ ।

भेटवार्तामा उपमन्त्री यझाओले चिनियाँ पार्टी स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा मनाइने कार्यक्रमका लागि राष्ट्रपति सी जिङपिङले सभापति देउवालाई निम्तो पठाएको सुनाएका थिए ।

आइतबार काठमाडौँ ओर्लिएको चिनियाँ टोलीले तीन दिनयता निरन्तर राजनीतिक भेटवार्ता गरिरहेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटको चिनियाँ टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओेली, नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटेको थियो ।

यस्तै सोही दिन सभामुख अग्नि सापकोटाका साथै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार