काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपा (प्रचण्ड—माधव) समूहले आज (मंगलबार) देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ।
प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध चरणवद्ध सडक संघर्षको घोषणा गरेको प्रचण्ड—माधव समूहले आज दिउँसो देशका सबै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गर्न लागेको हो।
प्रतिनिधिसभाको कथित विघटनविरुद्ध पार्टी केन्द्रद्वारा घोषित संघर्षका कार्यक्रम अन्तर्गत आज काठमाडौंसहित देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
९ पुसमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध देशव्यापी आन्दोलन चर्काउने निर्णय गर्दै चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो। यसअघि प्रचण्ड नेपाल नेतृत्वको नेकपाले पुस १२ गते देशका सबै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै नेकपा (प्रचण्ड—माधव) समूहले त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँलाई सँगसँगै अघि बढाएको छ।