गोरखा । नेपाली काँग्रेस गोरखाले सोमबार क्षेत्र नम्बर एक को ताङ्चिोक र दुईको भच्चेक बजारमा विरोध सभा गरेको छ । संसद बिघटन र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पछिल्ला कदम विरुद्ध देशभरका सबै निर्वाचन क्षेत्रहरुमा कार्यक्रम गरिएको हो ।
ताङ्चिोकमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्र सदस्य चिनकाजी क्षेष्ठले प्रधानमन्त्रीको कदम तानासाही भएको आरोप लगाए । ‘लोकतन्त्रमा जनताको सर्वोच्च निकाय संसद हो, यसलाई बिघटन गरेर उहाँले मुलकलाई फेरी अस्थिरता तर्फ धकेल्नु भएको छ,’ उनले भने, ‘यसले देशमा गम्भिर सकंट सिर्जना भएको छ ।’
उनले प्रधानमन्त्रीलाई आफ्नो कदम फिर्ता लिन समेत आग्रह गरेका छन् । क्षेत्र नम्बर २ को भच्चेक बजारमा भएको कार्यक्रम बोल्दै अर्को केन्द्रिय सदस्य धनराज गुरुङले नेकपाको आन्तरिक घर झगडाले संसद विघटन हुनु एक प्रकारको कु भएको दाबी गरेका छन् ।
कम्युनिष्टहरुले जनताका पक्षमा काम गर्दैन भन्ने कुरा बिगत ३ वर्षमा स्पष्ट भइसकेको उनको तर्क छ । ‘हामी निर्वाचनको बिरोधी होइनौं । जनता कम्युनिष्टहरुबाट आत्तिइसकेका छन्, हामी छिटो भन्दा छिटो निर्वाचनमा जान चाहान्छौं,’उनले भने, ‘तर संबिधानको उंलघन गरी, बिधि र प्रक्रिया सबै मिचेर घोषणा गरिएको निर्वाचन काँग्रेस जस्तो लोकतन्त्रबादी पार्टीलाई मान्य हुँदैन । सरकार निर्वाचन गर्न चाहान्छ भने प्रक्रिया अनुसार आउनु प¥यो हामी चुनावमा जान तयार छौं ।’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं काँग्रेस केन्द्रिय सदस्य कमला पन्तले लोकतन्त्र र संबिधानको रक्षाका निम्ति काँग्रेस फेरी सडकमा आउन बाध्य भएको बताइन् । ‘काँग्रेस जनताको सुख दुखःको साथी हो । काँग्रेस विधि र प्रक्रियाबाट चल्छ । हामी संबिधानको पूर्ण पालना होस भन्ने चाहान्छौं,’ उनले भनिन्, ‘त्यसैले लोकतन्त्र र संबिधान रक्षाको निम्ति, तानाशाही ओली सरकारको बिरुद्ध काँग्रेसले आन्दोलन सुरु गरेको हो ।’ राणा, राजा र जुनसुकै निरंकुश व्यवस्थाको बिरुद्ध पनि काँग्रेसले अगुवायी गरेको भन्दैले उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तीको छिटै अन्त्य हुने दाबी गरिन ।
क्षेत्र नम्बर २ का सभापती गोबिन्द गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य कमला पन्त, विशेष अतिथि केन्द्रिय सदस्य धनराज गुरुङ, जिल्ला सभापती हरिबहादुर घले, उपसभापती सुकदेव दवाडी, मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सतार, महासमिति प्रकाश दवाडी, मनकुमारी गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, नेपाली काँँग्रेस अजिरकोटको सभापती रेशम गुरुङ, क्षेत्रिय सचिव मानप्रसाद धिताल लगायतले मन्तव्य राखेका थिए ।
क्षेत्र नम्बर १ का सभापति धिरन थापाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, जिल्ला सचिव नन्द्रप्रसाद न्यौपाने, महासमिति सदस्यहरु राजनराज पन्त, राजेन्द्र बजगाई, भुगोल थापा, पूणर्बहादुर दाहाल, कमला लामिछाने लगायतले मन्तव्य राखेका थिए ।