काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली राजनीतिमा कलंकको टिका लगाएको बताएका छन् ।
सोमबार काठमाडौमा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले कलंकको टिका लगाएपनि आफुहरुलाई जनताका मुद्दामा जनतामाझ जाने र जोडाउने काम गरेको बताए ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेसँगै ओलीले कलंकको टीका लगाएको उनले बताए ।
प्रचण्डले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको बताए । ओलीले जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हकअधिकारमाथि प्रहार गरेको भन्दै प्रचण्डले त्यो सैह्य हुन नसक्ने बताए ।
पार्टीभित्र विवाद र अन्तरसंघर्ष चलेको स्वीकार्दै प्रचण्डले पार्टीभित्रको संघर्षलाई देशमा संकट ल्याउने बाहक बन्नु दूर्भाग्यपूर्ण भएको पनि बताए । उनले आफुसहितका नेताहरु सडकमा आएको देखेर कोहीले खुशी मनाएपनि आफुहरु सडकमा पुगेको नभई जनताको बीचमा पुगेको भन्दै ओली भने श्री ३ जंगबहादुर राणाको बाटोमा गएको बताए ।